रूख चढेर मेयरको हलो… हलो…



जाजरकोट : छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा पुग्छन् ।

 

कार्यालय समयमा उनीमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी नै डाँडामा गएर फोन गर्नु दैनिकी जस्तै बनेको छ। एक घन्टा हिँडेर फोन गर्नु उनीहरुको रहर नभई बाध्यता हो।

 

कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको नगरप्रमुख महतारा बताउँछन्। ‘बजारमा मोबाइलले काम गर्दैन, डाँडामा पुगेपछि नेटवर्क आउँछ, अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनु पर्छ,’ उनी भन्छन्।

 

कार्यालयमा नेटवर्क नलाग्ने समस्याले नगरको कामकाज पनि प्रभावित भएको छ। कार्यालयमा बस्दा सबैसँग सम्पर्क गर्न नसकिने भएकाले समय मिलाएर डाँडोमा पुगेर फोनबाट हुने काम फत्ते गर्नुपर्ने नगरप्रमुख महताराको भनाइ छ। टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा बारम्बार परिपत्र र ताकेता गर्दा पनि काम नभएको उनले गुनासो गरे।

 

नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन्। गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयबासीले सास्ती खेप्नुपरेको छ। सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपतकालीन उद्धार, देश–विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतराले बताए ।

 

अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ। जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवाबजार, छेडागाड नगरपालिको खारा, मनाघाट र थलबजार र कुशेगाउँपालिकाको बाटुले बजारलगायत स्थानमा पनि सञ्चार सुविधा छैन।

 

ती ठाउँका बासिन्दालाई एक कल फोनका लागि नगर प्रमुख जस्तै अग्ला डाँडा र जङ्गलका रुखमा चढ्नु पर्ने बाध्यता छ। छिटो छरितो सम्पर्क र सारोगारोमा कामका लागि फोन सम्पर्क नहुँदा हैरानी बेहोर्नुपरेको छेडागाड नगरपालिका–१ का राम शाहीले दुखेसो पोखे।

 

पश्चिमी क्षेत्रका मुख्य बजारका टेलिफोन सुविधा नहुँदा ती ठाउँको व्यापारीका कारोबारसमेत प्रभावित भएको छ। टेलिफोन सेवा विस्तारका लागि वर्षौंदेखि माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ। चुनावमा मत माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका प्रेमबहादुर केसीले बताए।

 

सम्बन्धित ठाउँमा तत्काल खबर आदानप्रदान गर्न नसक्दा समस्या हुँदै आएको स्थानीयवासीको गुनासो छ। रासस

प्रतिक्रिया दिनुहोस्