
केन्द्रीय कमिटी एकीकरणको ७ महिनापछि सत्तारुढ नेकपाले बल्लतल्ल प्र्रदेश कमिटी एकीकरण गरेको थियो तर सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ ।
टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको जनाइएको छ ।
शीर्ष नेताको कार्यशैलीमाथि पार्टीभित्रैबाटै चर्को आलोचना सुरु भएको छ । अध्यक्षहरूबीच नै सम्बन्ध चिसिएको, पार्टी एकीकरणका बैठक बसाल्न आनाकानी गरेका पार्टीका नेता कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् ।
नेकपाको एकीकरण प्रक्रियामा खास विवाद के छ त ? किन नेकपाले नियमित बैठक बसाउन सकेको छैन ? यसै विषयमा नेकपा नेतृ पार्टी केन्द्रीय सदस्य तथा युवासंघ नेपालकी वरिष्ठ पूर्वउपाध्यक्ष दिलु पन्तसँग द नेपालटपका प्रताप ओलीले गर्नुभएको कुराकानी :
१. केन्द्रीय कमिटी अहिले जिम्मेवारीविहीन अवस्थामा छ । तपाईहरू केमा व्यस्त हुनुहुन्छ ?
अध्यक्षद्वय केपी ओली र प्रचण्डले खासगरी बैठक बसालेर एकीकरण प्रक्रिया टुंग्याउने कुरामा पनि गम्भीर हुनुपर्ने हो तर उहाँहरू गम्भीर देखिनुहुन्न । हामीले बेलाबेलामा सचिवालयलाई सर्वेसर्वा नबनाउन, पोलिटब्युरो गठन गर्न र स्थायी समितिदेखि केन्द्रीय समिति बैठक बोलाउन माग गरिहेका छौं । अहिले हामी जिम्मेवारी नपाएकै अवस्थामा छौं ।
तीन महिनाभित्रै एकता प्रक्रिया टुंग्याउने भने पनि शीर्ष नेताहरू नै यसमा गम्भीर छैनन् । दसैं तिहारजस्ता चाडपर्वले पनि एकता प्रक्रिया पछाडि धकेलियो । म केन्द्रीय सदस्यको हैसियतले शीर्ष तहबाटै स्थायी कमिटी बैठकले गति लिओस् भन्ने चाहन्छु । हामीले आफ्ना कुरा राख्न पाउनुपर्छ । अहिले हामीलाई बोल्नेसमेत मौका दिइएको छैन ।
२. नेकपामा आएको विचलन र पार्टीप्रति असन्तुष्टि चुलिँदै गएको छ । यसले गर्दा एकीकरण नटुंगिँदै पार्टी फुट्छ भन्छन् नि ?
यो कुरामा म यतिमात्र जवाफ दिन सक्छु कि कालान्तरमा यसरी बैठकहरू नबसेर धकेलिँदै गयो भने नफुट्ला भन्न सकिन्न । हाम्रा शीर्ष नेताहरूलाई पार्टीभित्रका यस्ता कुरा गौण लाग्न सक्छन् । तर, यसले पछि पार्टीलाई हानि पुर्याउँछ । अध्यक्ष कमरेडहरूले सबैको योगदानलाई सम्झनु जरुरी छ । गुट चलाएर पार्टीको भविष्य दिगो हुँदैन ।
३.पछिल्लो समय अध्यक्षबीच नै राम्रो सम्बन्ध छैन भन्ने सुनिन्छ नि ?
सम्बन्ध समुधुर नै छ । यसमा कुनै शंकै छैन । उहाँहरूबीच छलफल चलिरहेका छ । आआफ्नै व्यस्तताले कुराकानी हुन नपाउने भन्ने मात्र हो । बाध्यताले पनि उहाँहरूबीच राम्रो सम्बन्ध हुनु आवश्यक छ । यो हल्ला हो ।
४.कमिटीहरू समायोजन गर्दा के–कस्ता झमेला आउन सक्लान ?
झमेला त अवस्य आउँछन् । तर पार्टीले योगदानलगायत व्यक्तिगत कुरालाई ध्यानमा राखेर मिलाउनुपर्ने हुन्छ । उनीहरूले पछि गएर रुष्ट भएर बस्न नपरोस् । व्यक्तिगत गुट हेरेर ग¥यो भने झन् समस्या हुन्छ । नेताहरूको मनोमानी देखिन्छ पार्टीभित्र यसको अन्त्य हुनुपर्छ ।
५. पछिल्लो समय सरकारप्रति जनताको वितृष्णा बढिरहेको छ नि ?
यो जनताले बढी आशा गरेर हो । यही सरकारको बेला निर्मला प्रकरणले उग्र रूप लियो । सुनकाण्डको जरा नउखेलिनुजस्ता घटनाले ले पनि जनता आक्रोशित भएका हुन् । हुन त म सत्तासीन दलकै सदस्य हुँ, तर प्रधानमन्त्रीको ओठेजवाफ मलाई मन परिहेको छैन । उहाँले हरेक कुरा राजनीतिक तवरले जवाफ दिनुपर्ने हो ।
एकातिर कमजोर प्रतिपक्ष भएर सरकार बलियो हुन सकेन । हाम्रो प्रधानमन्त्रीले विपक्षी नेताहरूलाई आफैं सडकमा उतार्नुहुन्छ त्यसपछि भन्नुहुन्छ सरकार देखिन भन्नेलाई यस्तो गरेको हुँ भन्नुहुन्छ । यस्तो पाराले सरकार कसरी चल्छ ?
जनतालाई काम गराइबाट जवाफ चाहिएको छ । हुन त हाम्रो सरकारले अघिल्लो सरकारभन्दा काम त गरेको छ नि । दुई देशबीचको सम्बन्ध सुधार, भ्रष्टाचारी समात्ने काम, सामाजिक सुरक्षाजस्ता काम गरेकै छ त ।
खासमा भन्ने हो भने अहिले नै सरकारले केही गर्न सकेन भनेर टिप्पणी गर्ने समय पनि भएको छैन । पाँच वर्षको समयावधिमा हामीले थुप्रै विकास गर्न सक्छौं । हामीले गरेन भने गर्ने कसले हो ? त्यसैले आम जनतालाई अहिले नै निराश नहुन आग्रह गर्छु ।
६. सरकारमाथि निर्मला पन्त हत्या प्रकरणमा अपराधी लुकाएको आरोप छ नि ?
चुनावका बेला जनतासामु विकास र सुरक्षाको प्रतिबद्घता जनाउने सरकार कसरी अपराधी लुकाउन सक्छ ? यो त अपराधी लागेपछि स्वाभाविक लाग्ने कुरा हो । यस घटनामा त्यहीँका स्थानीय र प्र्रहरी प्रसासनको संलग्नता हुन सक्छ । घटनाको सब्रै प्रमाण नष्ट गरेपछि छानबिन हुन गाह्रो भएकाले ढिलाइ भएको हो ।
प्रहरी अझै घटनाको अनुसन्धानमै छ । ढिलोचाँडो अपराधी पत्ता लाग्छ । यसका लागि प्रहरी प्रसासन र सरकारमा बसेकाहरू जवाफदेही हुनुपर्छ ।
७.स्थानीय तह भ्रष्ट हुँदै गए । अधिकांश स्थानीय तहमा नेकपाकै सरकार छ । नेकपाकै बोलबाला छ । उनीहरू जनप्रतिनिधि कम ठेकेदार बनेका छन् । यसले नेकपाको साख गिर्लाजस्तो लाग्दैन ?
हो, सत्य हो । हिजो जनतालाई नमस्ते गर्ने मान्छे अहिले जनतालाई नमस्ते गराइरहेका छन् । यस्तालाई पार्टीले पदबाट बर्खास्त नै गर्नुपर्छ । पार्टीभित्र यस्तै भाइरस भएर नै जनता हामीप्रति विश्वस्त हुन सकिरहेका छैनन् । यसले भ्रष्टाचार मौलाइरहेको छ । यसलाई विचार गर्नुपर्छ ।
८. जताततै निराशा, सरकारप्रति विरोध, भ्रष्टाचार सुशासनको अभाव देखिएको छ । तपाई स्वयं ओली नेतृत्वप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म केन्द्रीय सदस्य भएको हैसियतले आफ्नै पार्टी अध्यक्षको प्रशंसा गर्नुपर्ने हो । तर, मलाई उहाँको काम गराइको तरिका मन परिरहेको छैन । सानो कुरालाई पनि ठूलो बनाइहाल्ने, पार्टीमा आफू निकटस्थलाई काखी च्याप्ने उहाँको कार्यशैली चित्तबुझ्दो छैन ।
पार्टीलाई यहाँसम्म ल्याउने वरिष्ठ नेताहरूलाई मतलब नै गर्नुभएको छैन । यति विशाल पार्टीमा हरेकको आ–आफ्नै योगदान छ । यसलाई उहाँले बुझ्नु जरुरी छ । अरूलाई गुपचुप राखेर उहाँले आखिर कहिलेसम्म राज गर्न सक्नुहोला र ? भोलिका दिनमा उहाँ नै अध्यक्ष रहिरहने पनि त होइन । आफ्नासँग रमाउनाले पार्टीमा ठूलो क्षति पु¥याउँछ ।
यति कमजोर प्रतिपक्षसँग पनि प्रस्तुत हुने उहाँको शैली पटक्कै छैन । आफैं प्रतिपक्षलाई सडकमा उतार्नुहुन्छ । कुरा काट्यो भनेर भन्नुहुन्छ ।
९. अर्का अध्यक्ष प्रचण्डको पार्टीमा कस्तो प्रभाव देख्नुहुन्छ ? पार्टीलाई स्थायित्व दिन उहाँको भूमिका कस्तो रहला ? कसरी बुझ्नुभएको छ ?
उहाँ शालिन र भद्र हुनुहुन्छ । हरेक समस्यासँग सजिलै जुध्न सक्ने उहाँको राम्रो गुण हो । गल्ती हुँदा तुरुन्तै माफी माग्ने उहाँको राम्रो बानी छ । उहाँमाथि कमेन्ट गर्ने त्यस्तो ठाउँ त देख्दिनँ म ।
१०. पार्टी एकीकरणका लागि पार्टीभित्र के कस्ता कसरत भइरहेका छन् ?
पहिले हाम्रा शीर्ष नेताहरूले स्थायी कमिटी, सचिवालय बैठक बसेर केन्द्रीय कमिटीलाई जिम्मेवारी दिनुप¥यो । हाम्रो काम तल्ला कमिटी समायोजन गर्ने हो । हामीले बैठक जतिसक्दो चाँडो बसेर पार्टीलाई गतिशील बनाउन आग्रह गरिरहेका छौं । उहाँहरूले हुन्छ मात्र भनिराख्नु भएको छ । जे होस् प्रदेश कमिटीको विवाद अन्त्य भएपछि आशा गरौं एकता प्रक्रिया अघि बढ्ने छ ।