कैलाली : सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पताल सेती अञ्चल अस्पतालमा लामो समयसम्म लिफ्ट मर्मत हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । २४ सै घण्टा लिफ्ट सञ्चालन हुनुपर्ने भए पनि अञ्चल अस्पतालमा भने लामो समयसम्म लिफ्ट नै मर्मत भएकाे छैन ।
अस्पताल प्रशासनले मर्मत लागि चासो नदेखाउँदा लामो समयसम्म पनि लिफ्ट सञ्चालनमा आउन नसकेको हो । जसले गर्दा अशक्त, अपांगता र जेष्ठ नागरिक विरामीहरुले सास्ती खेप्नुपरेको छ ।
प्रशासनले सामान्यरुपमा ५ महिनाअघि मात्रै मर्मत गरेर लिफ्ट सञ्चालनमा ल्याएको भनिए पनि अहिले भने अवस्था जस्ताको त्यस्तै बनेपछि विभिन्न खाले विरामी, अपाङ्गहरुले समस्या भोग्नुपरेको छ
लिफ्ट सञ्चालन नभएका कारण सबैभन्दा बढी अशक्त, अपांगता र जेष्ठ नागरिक विरामीलाई समस्या हुने गरेको विरामीका आफन्तको भनाई छ । यति मात्र नभई ह्वील चियरहरु पनि भाँचिएका टुटफुट भएका कारण विरामी बोक्नसमेत नसकिने अवस्था छ ।
थाहा नपाएकाले माथिल्लो तलामा सजिलै विरामीलाई लैजाने भनेर लिफट भित्र पस्ने गरेका छन् । तर, सञ्चालन नहुँदा सिकिस्त विरामीलाई समेत हिडाएर लग्नुपर्ने बाध्यता रहेको विरामीका आफन्तले बताएका छन् ।
लिफ्ट मर्मतका लागि चाहिने सामाग्री चीनबाट मगाउनुपर्ने भएकाले लिफ्टलाई पुर्णरुपमा सञ्चालन गर्न अझै एक महिना लाग्ने अस्पताल प्रशासन जनाएको छ । अस्पतालका मेडिकल अपरेटर अरुण पनेरुले अहिले अस्पतालमा दिर्घकालीन् रुपमा लिफ्ट संचालनका लागि पहल भइरहेकाले अबको एक महिनामा समस्या समाधान हुने दावी गरे ।
सेती अञ्चल अस्पतालले यसअघि पनि समय समयमा लिफ्ट मर्मत गर्ने अाश्वासन बाँड्दै अाएकाे थियाे ।