कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी



काठमाडौं : प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । 

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गाना, चीनकाजी श्रेष्ठ तथा आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले आ–आफ्नो धारणा राखे ।  

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए । 

आज आफ्नो धारणा राख्ने युवा केन्द्रीय सदस्यले परिवर्तित अवस्थामा पार्टीले आफ्नो विधानमा व्यापक संशोधन गर्नुपर्नेमा जोड दिए । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्