मधेसी नेतामा ‘सद्भाव र सम्मान’ बाँकी रहेन : जेपी गुप्ता



महन्थ ठाकुर समसामयिक मधेसका राजनीतिज्ञमध्ये सबैभन्दा जेठो हुनुहुन्छ । आदरणीय तथा प्रतिबद्ध पनि । उहाँ राजपाका संसदीय दलका नेता हुनुहुन्छ । केही दिनअघिसम्म उहाँ सो पार्टीका संयोजक हुनुहुन्थ्यो ।

राजपा अध्यक्षमण्डलका ६ जना सदस्यमध्ये ४/५ जनाले बैठक गरी उहाँलाई संयोजकबाट हटाए । यस समाचारबाट देशकै राजनीति तरंगित भयो । सबैतिर दुष्चिन्ता छायो । केही खुसी पनि भएका होलान्, तर धेरै भने चिन्तित देखिए ।

मधेसका राजनीतिक समस्याको शान्तिपूर्ण समाधान चाहनेहरू (मधेसी र पर्वते) चकित भए । राजपा विखण्डित हुने चिन्ता मधेसमा एकदमै बढेको मैले पाएको छु ।

वास्तवमा म स्वयं नै राजपाको “सत्ता समर्पण तथा मुद्दा विसर्जनवादी” सोचको विरोधी हुँ । तर पनि राजपामा फुट आउनु हुँदैन भन्ने चाहना राख्छु ।

आफूलाई संयोजकको जिम्मेवारीबाट हटाइएकोमा महन्थजी ४/५ दिन मौन रहनुभयो । यस मौनताले परिस्थितिलाई अझ गम्भीर बनायो । विखण्डनको हावाले बल नै पाएको थियो ।

नयाँ संयोजक राजेन्द्र महतोजी पनि विनित भावमा महन्थजीप्रति सार्वजनिक रूपमा सद्भावपूर्ण अभिव्यक्ति दिएर राम्रै गर्नुभयो ।

तर, महन्थजी आफ्नो उपचारका लागि दिल्ली प्रस्थान गर्नुभन्दा ठिक पहिले राजपा अध्यक्षमण्डलको बैठकमा सरिक भएर चिन्तामा रहेका सबैलाई आश्वस्त पार्नुभयो । मलाई पनि लागेको छ कि सायद अब टुटफुटको सम्भावना टरेको छ ।

यसपश्चात् महन्थ ठाकुर उपचारका लागि दिल्ली जानुभयो ।

काठमाडौं विमानस्थलबाट प्रस्थान गर्नु हुँदा अपवादबाहेक पुरानो तमलोपासम्बद्ध केही नेताहरू उहाँको बिदाइका लागि एयरपोर्ट पुगेको एकाध तस्बिर सामाजिक सञ्जालमा देखिए । धेरैले महन्थजीलाई दयाका पात्रझैं देखाउँदै मजाक र खिसी गरेको पाइयो । यो राम्रो भएन ।

तर, सर्वाधिक नराम्रो पक्षचाहिँ राजपा अध्यक्ष मण्डलका अन्य कुनै पनि सदस्यहरू उहाँको बिदाइमा नपुग्नु रह्यो ।

‘धेरै जना पुग्दा राम्रो र कोही पनि नपुग्नु नराम्रो,’ कुरो यति मात्र होइन । कुरो त हामी एकापसमा एकअर्कालाई कति सम्मान गर्छौं, आफ्ना सहकर्मीहरूका प्रति कति सद्भाव राख्छौ, अधिकारप्राप्तिको यस लामो लडाइमा सँगै लागिपरेका अन्य नेताको जीवनलाई कत्तिको आवश्यक ठानेका छौं, सवाल त यो पनि हो ।

जुन नेताहरूको आह्वानमा ६ महिनाको आन्दोलनमा १ सय २५ जनाभन्दा बढी मानिसले ज्यान दिए, ती नेताहरू स्वयं एकअर्काप्रति कति साख्यभाव राख्छन्, अबका पुस्ताले चुपचापै सही तर यो संस्कार र संस्कृति पनि खोज्दैछन् मधेसी नेताहरूमा !

यहाँ मैले दुइटा तस्बिर पोस्ट गरेको छु । पहिलो तस्बिर मैले माथि उल्लेख गरेको महन्थ ठाकुर दिल्ली जान लाग्नुभएको बेलाको हो । फेसबुकबाट लिएको हुँ ।

दोस्रो तस्बिरमा मबाहेक सबै नेपाली राजनीतिका बडो आदरणीय तथा मूर्धन्य मानिसहरू देखिनुहुन्छ ।

बायाँको पहिलो म नै हुँ, त्यसपछि एकजना सरकारी कर्मचारी र त्यसपछि क्रमशः बेनीबहादुर कार्की, गणेशमान सिंह, दमननाथ ढुङ्गाना र कृष्णप्रसाद भट्टराई देखिनुहुन्छ ।

यहाँ उहाँहरूको परिचय दिइरहनु पर्दैन होला । यो तस्बिर, गिरिजाप्रसाद कोइराला विदेशबाट फर्किन लाग्नु हुँदा उहाँको शिष्टाचार स्वागतका लागि यी नेताहरू एयरपोर्ट पुग्नुभएको सन्दर्भ स्मरणीय छ ।

फेरि यो पनि थाहा पाइराख्नु पर्ला कि सो समयमा गिरिजाबाबुसँग बेनीबहादुर कार्की, गणेशमानजी, दमनजी र स्वयं किसुनजीको बडो ठूलो मतभिन्नता थियो । त्यसबेलाका समयसाक्षीहरूलाई नै थाहा होला कि उहाँहरूमा कत्रो विवाद थियो ।

तर, वैयक्तिक रूपमा एकले अर्काप्रति सम्मान तथा शिष्टाचारको गंगोत्री पनि मनमा राखेको कुराको दृष्टान्त हो यो पुरानो तस्बिर ।

मिथिला, जहाँ प्रागऐतिहासिक कालमा आदि शंकराचार्य र मण्डन मिश्रका बीच भएको शास्त्रार्थको उल्लेख गर्दै हामी आजका राज्य सञ्चालकहरूलाई हाँक दिइरहेका हुन्छौं । मिथिलाका विपुल सांस्कृतिक विरासत तथा सुसंस्कृत परम्पराका कुरा गरिरहेका हुन्छौं ।

तर, यथार्थमा हामी स्वयंका बीचबाट धेरै कुराहरू हराएका छन् । तीमध्येका एक कुरा मधेसका अगुवाहरूको मनबाट परस्परका लागि सद्भाव तथा सम्मानको पलायन पनि हो ।

(फेसबुकमा पोस्ट गरिएको जेपी गुप्ताको अभिव्यक्ति)

प्रतिक्रिया दिनुहोस्