
काठमाडौं : गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ । जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो ।
निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन् । उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन् ।
गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए ।
उनीहरूलाई निकालिए पनि मानव तस्करको सञ्जाल भने खुल्न सकेको छैन । नेपालस्थित बेलायती दूतावासले समेत उनीहरूले प्रयोग गरेको बेलायती राहदानी नक्कली भएको प्रमाणित गरेपछि अध्यागमनले थप अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
असार पहिलो साता उनीहरू त्रिवि अध्यागमन कार्यालयबाट बेलायतको नक्कली राहदानीमा भिसा लिएर नेपाल प्रवेश गरेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।