मलेसियामा ३८ दिनदेखि अलपत्र नेपाली बाेइङ



काठमाडौं : सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । 

निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए ।

‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन ।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो । 

त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए । बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ । 

उक्त उपकरणको २ लाख डलर हाराहारी (२ करोड २५ लाख रुपैयाँ) लागत पर्ने भनिएको थियो । ठूलै रकम आवश्यक पर्ने भएपछि काठमाडौंस्थित निगम व्यवस्थापनले निर्णय लिन सकेन । 

‘हामीसँग रकम पनि उपलब्ध भएन, अर्को कुरा त्यो उपकरण फेर्ने कि नफर्नेबारे बेलैमा निर्णय पनि दिन सकिएन,’ स्रोतले भन्यो, ‘बेलैमा व्यवस्थापकीय निर्णय दिन नसक्दा जहाज उता थन्किएको छ । पार्किङ चार्जको बिल दैनिक निगमको थाप्लोमा बढेको बढ्यै छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्