
काठमाडौं : नेपाल आयल निगमले भारतबाट पछिल्लो एक महिनायता प्रतिलिटर १५ रुपैयाँ ४२ पैसा सस्तोमा पेट्रोल खरिद गरेको छ । तर, नेपाली बजारमा भने प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएर चर्को मुनाफा राखेको छ ।
आयल निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनबाट १५ कात्तिकमा ६७ रुपैयाँ ९३ पैसामा पेट्रोल खरिद गरेको थियो ।
एक महिनापछि १५ मंसिरमा ५२ रुपैयाँ ५१ पैसा प्रतिलिटरमा खरिद गरेको छ । त्यस्तै पछिल्लो एक महिनामा डिजेल ९ रुपैयाँ ४८ पैसा र मट्टितेल ८ रुपैयाँ ७७ पैसा सस्तोमा खरिद गरेको छ ।
मूल्य घटेपछि मंगलबार बिहानबाटै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ ।
अबको १५ दिनसम्म नयाँ मूल्य सूची नआउन्जेल निगमले ५६ करोड ५८ लाख रुपैयाँ नाफा गर्नेछ । यो हिसाव हेर्दा दैनिक करिब ५० करोडको तेल बिक्री गर्ने निगमले ४ करोड रुपैयाँ नाफा आर्जन गर्ने छ ।
यति चर्को दरमा नाफा राखेर मूल्य समायोजन गर्नुको कारणबारे सरकारले चाडपर्वको समयको घाटा समायोजन गर्न उपभोक्ताले सोचेअनुसार मूल्य घटाउन नसकेको स्पष्टीकरण दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।