गौतम गम्भिरले लिए क्रिकेट करिअरबाटै सन्यास



एजेन्सी : भारतीय क्रिकेटका पूर्वओपनर गौतम गम्भीरले मंगलबार सबैखाले  क्रिकेटमा विश्राम  लिएका छन् । करिब १५ वर्ष भारतीय क्रिकेटमा रहेका गौतमले सामाजित सञ्जाल फेसबुकमा भावुक भिडियो सार्वजनिक गर्दै मंगलबार संन्यासको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०११ को विश्वकप क्रिकेट विजेता भारतीय टोलीका सदस्यसमेत रहेका गौतम सन् २०१६ देखि भने राष्ट्रिय टिममा पर्न असफल थिए । उनले सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध ९७ रन बनाउँदा भारतले उपाधि चुमेको थियो । 

उनले पछिल्लो पटक सन् २०१६ मा घरेलु मैदान राजकोटमा इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेलेका थिए ।

सन् २००७ मा पनि भारतले ट्वान्टी–२० क्रिकेटको विश्वकप जित्दा समेत उनी टोली महत्वपूर्ण सदस्य थिए । उनले सन् २००३ मा बंगलादेशविरुद्ध ढाकामा भएको एकदिवसीय क्रिकेटबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

त्यसपछि उनले ५८ टेस्टमा ९ शतकसहित क्रिकेटमा कुल ४ हजार १ सय ५४ रन बनाएका छन् । कुल १ सय ४७ एकदिवसीय क्रिकेट खेलेका गौतमले ५ हजार २ सय ३८ रन बटुलेका छन् । 

प्रतिक्रिया दिनुहोस्