१२ वर्षदेखि साङ्लोमा



राजविराज : सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन् ।

उनी मानसिक रोगबाट पीडित छन् । दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ । उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ । साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन् ।

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन । ओढ्न–ओछ्याउन एउटा सिरक छ । जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन् । बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ ।

उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन् । खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन् । सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन् ।

उनले २०५४ सालमा उमाकान्तसँग विवाह गरेकी हुन् । त्यस बेलै उमाकान्तमा मानसिक समस्या देखिइसकेको थियो । आमाबुवाले यसबारे थाहा पाएर माइतमै बस, अर्को विवाह गरिदिउँला पनि भने । तर, उनले उमाकान्तसँगै जीबन बिताउने आँट गरिन् । 

‘बुवा बनेर कमाएर ल्याउँछु’, उनले भनिन्, ‘आमा बनेर पकाएर खुवाउँछु ।’ उनले मजदुरी गरेर तीन छोरी हुर्काइन् । छोरीहरू घरनजिकैको विद्यालयमा पढ्छन् ।

टुरन र पल्टीदेवीका जेठा छोरा हुन् उमाकान्त । बुवा–आमा कान्छा छोरा रमाकान्तलाई लिएर छुट्टै घरमा बसेका छन् । उनी ठीक हुँदासम्म सगोलमै थिए । खेत रुँग्न रातभर बस्ने गरेका उनी बिस्तारै बिरामी पर्दै गएको पल्टीदेवीले सुनाइन् ।

परिवारका सदस्यले उपचार गराए, धामीझाँक्री पनि देखाए । तर, अस्पतालबाटै भाग्ने, औषधि नै नखाने भएपछि रोग बल्झिँदै गएको छिमकी सुनाउँछन् । ‘उनी घरखेतका सबै काम गर्थे । गाउँकै बलिया र सुन्दर युवक थिए’, छिमेकी ८० वर्षीया कनीवती चौधरीले भनिन्, ‘निको नभएपछि उमाको पूरै जवानी बन्धनमै बित्यो ।’

लामो समय भएकाले उपचारमा निकै खर्च लाग्ने वडाध्यक्ष सुशीलकुमार चौधरीको अनुमान छ । ‘उपचार गराउन आर्थिक समस्या मात्र होइन, कहाँ लैजाने, कसले लैजाने भन्ने पनि समस्या छ’, उनले भने । आफूले उपचार खर्च बेहोर्न नसक्ने सुशीलाको भनाइ छ । 

उनले चार कट्ठामा अधिया खेती गर्दै आएकी छन् । बाँकी समय मजदुरी गरिरहेकी उनलाई खर्च धान्न हम्मे छ । ‘बुवा भए पनि नभएझैं भएको छ’, जेठी छोरी अस्मिताले भनिन्, ‘हाम्रो बुवाको उपचारका लागि कुनै उपाय भए सहयोग जुटाइदिनुहोस् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्