शीर्ष नेताकै कारण नेकपामा जिम्मेवारी बाँडफाटमा ढिलाइ



काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ । नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउने जनाएको थियो ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक ११ गतेका लागि सरेको थियो । मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो । 

उक्त बैठकमार्फत नेकपाले प्रदेश सदस्यहरूको टुंगो लगाए पनि केन्द्रीय सदस्यको जिम्मेवारी टुंग्याउने विषय भने अनिश्चित बनेको छ ।

४ सय सदस्य रहेको नेकपाभित्र लामो समयसम्म जिम्मेवारी बिहिन हुनुपरेको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका छन् । नेकपाभित्र केन्द्रीय सदस्यहरूको असन्तुष्टि सम्बोधन गर्नका लागि सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ । तर, कार्यदलले हालसम्म पनि केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउन सकेको छैन ।

हालसम्म पनि केन्द्रीय सदस्यहरूको जिम्मेवारीसम्बन्धी प्रस्ताव नै तयार नभएको नेकपाका एक उच्चनेता बताउँछन् । ‘केन्द्रीय सदस्यहरूको जिम्मेवारीसम्बन्धी प्रस्ताव नै तयार भएको छैन, त्यसैले जिम्मेवारी तोक्न सकिएको छैन,’ ती नेताले भने नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नमा ढिलाइ हुनुलाई नेताको कार्यशैलीसँग जोडेर हेर्छन् । 

‘यो उहाँहरूको स्वार्थ र नियतभन्दा पनि काम गर्ने शैलीको समस्या हो,’ भुसालले भने । समयमै केन्द्रीय सदस्यको जिम्मेवारी टुंग्याउन नसक्दा त्यसको असर पार्टी, सरकार र समग्र मुलुकलाई नै पर्ने उनको तर्क छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्