काठमाडौं : संसदीय समितिमा विगत एक महिनादेखि कोरम नपुग्ने समस्या बढेर गएको छ । बैठक बोलाएपछि समितिका सदस्यलाई कुरेर नै घन्टौं समय बित्न थालेको छ ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले त कोरम नपुग्ने भएका कारण समितिको पहिलो बैठकसमेत बोलाउन सकेका छैनन् । उनले केही दिनअघि अनौपचारिक बैठक बोलाएका थिए । उनले भने, ‘समितिमा कोरम नपुग्ने समस्याकै कारण बैठक बोलाउन सकेको छैन ।’
मंगलबार बिहान ११ बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको बैठक पनि कोरम नपुगेर दुईपटक स्थिगित भएको छ । पहिलो बैठकमा निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन कर्तासँग छलफल गरिएको थियो ।
संशोधन कर्ता भरत साह, रेखा शर्मा र प्रेम सुवालले संशोधन राख्नुको कारणबारे समितिलाई स्पष्ट पारेका थिए । त्यसपछि बैठक स्थगित गरी अर्को बैठक दफाबार छलफलको लागि बोलाइएको थियो ।
दफाबारको छलफलका क्रममा समितिका सदस्यहरू ८ जना मात्र सदस्य रहेका कारण कोरम नपुगेपछि बैठक सञ्चालन हुन सकेन । समितिमा उपस्थित रहेका १७ जना सदस्यमध्ये ९ जना सदस्य बाहिरिएपछि ८ जना मात्रै बाँकी थिए । त्यसपछि बसेको तेस्रो बैठकमा कोरम पुगेपछि विधेयकमाथि दफाबार छलफल भएको थियो ।
संसद् नियमावली बमोजिम पहिलो बैठकमा ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । २५ जना समिति सदस्य रहेको बैठकमा कोरम पुग्नका लागि १४ जनाको उपस्थिती हुनुपर्दछ ।
निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको संशोधनकर्तासँग छलफल पछि त्यसमा दफाबार छलफल गरिएको हो ।
अर्थमन्त्रालयका सचिवसहित अधिकारीहरू निर्धारित समयमा नै उपस्थित भएका थिए । अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडा संशोधनकर्तासँग छलफल भइरहेका समयमा उपस्थित थिए ।
सांसद सत्या पहाडीले समितिको बैठकमा नआउने सांसदलाई छलफलमा भाग लिन नपाउने व्यवस्था गर्नसमेत माग गरिन् । आजको नागरिक दैनिकमा समाचार छ ।