भद्रपुर: झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिक अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ ।
समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ ।
डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताए । प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा भइरहेको जानकारी दिए ।