
काठमाडौं: मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ ।
पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । यसमा स्थानीय सरकारको समेत समर्थन छ ।
वाग्मतीको मुहान क्षेत्र नै भए पनि हाल यहीका धारामा खानेपानी आउँदैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका नगर क्षेत्र उपत्यकामा वितरण हुने वाग्मतीको पानीको स्रोत स्थल हो ।
वाग्मती स्रोतको एउटा ठूलो पाइपबाट ल्याइएको पानी गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण हुन्छ । अर्को ठूलो पाइपको पानी महाँकालचौरमा प्रशोधन गरी वितरण गरिन्छ । दुवै स्थानबाट वितरण हुने पानी गोकर्णेश्वर नगर क्षेत्रमा वितरण हुने भए पनि धारामा पानी झर्दैन । वर्षौंदेखि धारामा पानी नआएपछि नगरपालिकामा पटकपटक गुनासो गरेको स्थानीय खड्गबहादुर गुरुङले बताए । मेलम्चीको पानी आउँदासम्म पनि यहाँ खानेपानीको व्यवस्था नगरे प्रशोधन केन्द्रको पानी वाग्मती नदीमा बगाउन खानेपानी पीडित समूह सङ्गठित हुन थालेको उनको भनाइ छ ।
मेलम्चीबाट आउने पानी पनि गोकर्णेश्वर नगरपालिका–१, महाँकालमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पठाइन्छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानी आउँछ ।
पानी प्रशोधन केन्द्र निर्माण, पाइप बिच्छ्याउन सडक खन्नेलगायत काम गर्दा नगर क्षेत्रमा हिउँदमा धूलो र वर्षामा हिलोले हिँडडुल गर्नसमेत नसकिने अवस्था रहेको स्थानीय सुशील सिम्खडाले बताए ।
१७ करोड लिटर पानी प्रशोधन गर्न निर्माण भइरहेको दुईवटा प्रशोधन केन्द्र बनाउँदा वातावरणीय रुपमा प्रभाव परेको उनको भनाइ छ । मेलम्ची प्रशोधन केन्द्र र सुरुङसम्म जाने सडक कालोपत्र गर्न पटकपटक अनुरोध गर्दा पनि आयोजनाले काम नगरेको स्थानीयवासीको गुनासो छ ।