राजदुत शेर्पामाथिको मानव तस्करी आरोप, छानविन हुनुपर्ने कांग्रेसको माग



काठमाडौं: नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानविन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकास शर्माले राजदूत शेर्पामाथि लागेको आरोप कांग्रेसले गम्भीर रुपमा लिएको बताए ।

 

आज विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले शेर्पामाथिका आरोपको छानविनका लागि परराष्ट्र मन्त्रालयमा तत्काल उपस्थित गराउन माग गरे । ‘दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

राजदूतकै निजी सहयोगीबाट मानव तस्करीको आरोप लागेको एक साताभन्दा धेरै समय भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको कांग्रेसले आरोप लगाएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले अझै गम्भीर र दुःखद रुपमा लिएका छौं ।'

 

गत साता एक टेलिभिजन कार्यक्रममा राजदूत शेर्पाका पुर्व सहयोगीले मानव तस्करीमा शेर्पा संलग्न भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्