
बैतडी : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा प्रथम चौमासिकमा विकास बजेट खर्च नभएको देखिएको छ । बैतडी, दार्चुला र बझाङ जिल्लामा प्रादेशिक रणनीतिक सडक र पुल निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको कार्यालयले जनाएको छ ।
कात्तिक महिनामा कार्यालय स्थापना भएको र ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर जगतप्रसाद जोशीले बताए । भौतिक पूर्वाधार विकास कार्यालयले तीनवटा जिल्लामा ९९ वटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म काम शुरु भएको छैन ।
कर्मचारी अभावमा काम गर्न नसकिएको इञ्जिनीयर जोशीले बताए । सात सबइञ्जिनीयर र चार इञ्जिनीयरको दरबन्दी भएको कार्यालयमा एक जना सबइञ्जिनीयर र एकजना इञ्जिनीयरबाहेक पदपूर्ति भएको छैन । प्रदेश सरकार मातहत स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन ।
अख्तियारी नै नआएकोले विकास बजेट खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक विशनसिंह विष्टले बताए । विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन ।