
बुटवल: मजदूर सम्बद्ध संस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको अधिकार र सुरक्षाको ग्यारेन्टी गरेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट प्रदेश नं ५ ले आज बुटवलमा गरेको कार्यक्रममा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना पूर्ण कार्यान्वयन हुनसके मजदूरको सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले पूर्ण कार्यान्वयनको माग गरेका हुन् ।
जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सुरक्षा योजना सम्पूर्ण मजदूरको हकहित र सुरक्षाका लागि अहिलेसम्मकै महत्वपूर्ण रहेकाले रोजगारदाताले योजनाको पूर्ण कार्यान्वयनका ध्यान दिनुपर्ने बताए । जिफण्टका प्रदेश अध्यक्ष हरि कार्कीले सुरक्षा योजना कार्यान्वयनका लागि मजदूर र रोजगारदाताबीच सहकार्य जरुरी रहेको बताए ।
योजना कार्यान्वयनमा आएपछि पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले स्वास्थ्य, दुर्घटना, अशक्तता, पारिवारिक सुरक्षा, निवृत्तिभरणलगायतका सुविधा पाउनेछन् ।