उपमेयरलाई निलम्बन गर्न दुईतिहाई सदस्यद्वारा माग



रौतहटको कटहरिया नगरपालिकाको कार्यपालिका बैठकले उपमेयरमाथि कार्वाही गर्न विभिन्न निकायलाई पत्र पठाएको छ । २० भदौमा बसेको नगरपालिकाको कार्यपालिका बैठकमा दुई तिहाई बहुमतले उपमेयर नूरजहाँ खातुन (हाल कार्यवाहक मेयर) लाई निलम्बन गरी कार्वाही गर्नुपर्ने निर्णय पारित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति लगायतका निकायलाई पत्र पठाएको हो ।

खातुनमाथि कर्मचारीसँग मिलेर व्यापक अनियमितता गरेको र विभिन्न ११ शीर्षकको हिसाब माग गर्दा नदिएको भन्दै कार्यपालिकाको बैठकले उनलाई निलम्बन गरी कार्वाही गर्नुपर्ने निर्णय पारित गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले जानकारी दिए ।

उपमेयर खातुनले भने आफूले अनियमितता नगरेको भन्दै नगरपालिकाको विकास केहीलाई नपचेको प्रतिक्रिया दिएकी छन् ।

यसैबीच नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामलाल सहनीले आफूलाई केही कार्यपालिका सदस्य तथा वडाध्यक्षले बाहिरियासँग मिलेर केही कागजपत्रमा बलजफ्ती सही गराएको आरोप लगाएका छन् ।

अधिकृत सहनीले जारी गरेको विज्ञप्तिमा आफूलाई केही व्यक्तिले बलजफ्ती सही गराएको र नगरपालिकामा कुनै अनियमितता नभएको उल्लेख गरेका छन् । तर कार्यपालिकाको बैठकस्थलमा अन्तिममा उपस्थित भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले अधिकृत सहनीले कसैले बलजफ्ती सही गराएको विषयमा जानकारी नगराएको बताएका छन् ।

नगरपालिकाका मेयर सियाराम कुशवाहा वीरगञ्जका काशी तिवारीको हत्याको अभियोगमा उच्च अदालतको फैसलाअनुसार जेल चलान भएपछि उपमेयर खातुनले नै कार्यभार सम्हालेकी छन् ।

प्रतिक्रिया दिनुहोस्