अनियमितता देखिएपछि क्याम्पसमा तालाबन्दी



कैलाली : कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा मंगलबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

लामो समयदेखि सञ्चालनमा रहेको क्याम्पसको तदर्थ समितिको खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघ घोडाघोडी नगर समितिले अनिश्तिकालिन तालाबन्दी गरेको हो ।

नेविसंघ घोडाघोडी नगर संयोजक कलकजंग सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयदेखि क्याम्पसको तदर्थ समितिले त्रिभुवन विश्व विद्यालयको नियम र क्याम्पसको विधान विपरित क्याम्पसलाई दीर्घकालीन असर पर्ने किसिमको निर्णय गरेकोप्रति नेविसंघ घोडाघोडी नगर समितिको ध्यानाकर्षण रहेको उल्लेख गरिएको छ ।

यस क्याम्पसका विद्यार्थी संगठन तथा घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीको उपस्थितिमा भएका निर्णयलाईसमेत पूर्णरूपमा वेवास्ता गरी आफू खुसी निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा मंसिर १७ गते क्याम्पसको नियम विपरीत क्याम्पस प्रमुख लगायत केही शिक्षक नियुक्त गर्ने निर्णयप्रति नेविसंघ नगर समितिले गम्भीर आपत्ति जनाउदै तदर्थ समितिको खारेजीको माग पुरा नभएसम्म तालाबन्दी नखुल्ने जनाएको छ ।

यता क्याम्पस सञ्चालन तदर्थ समितीका अध्यक्ष देवबहादुर बमले भने सञ्चालक समितिले नियम विपरित निर्णय नगरेको बताए ।

 

क्याम्पस प्रमुख नृपबहादुर बोगटीले राजिनामा मागेपछि क्याम्पस प्रमुख र केही पूर्णकालीन तथा आशिंक शिक्षक नियुक्त गरिएको अध्यक्ष बमले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्