प्रमुखविहीन हुँदा राष्ट्रिय गाैरवका अायाेजना अलपत्र



कैलाली : सुदूरपश्चिम प्रदेशको ठूलो आयोजना अत्तरिया–मोहना ६ लेन सडकको निर्माण अवधि सात महिना मात्रै बाँकी रहँदा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको छ । 

झन्डै १ अर्ब ६० करोड लगानीमा बन्दै गरेको ६ लेन सडकखण्ड २०७४ जेठमा सुरु भई ०७६ जेठमा सम्पन्न गर्नुपर्ने छ । 

३ जना ठेकेदारलाई जिम्मा दिइएको सडकखण्डमा कुनै पनि ठेकेदारले ३० प्रतिशतभन्दा बढी काम गर्न सकेका छैनन् । 

आयोजनाका निमित्त कार्यालय प्रमुख सिद्वराज पाण्डेले सर्वोच्च अदालतकै कारण ६ लेन सडक निमार्णमा ढिलाइ भएको आरोप लगाए । 

उनले भने, ‘७४ जेठदेखि काम सुरु गर्ने बित्तिकै अदालतमा मुद्दा पर्‍यो । अदालतले फागुन अन्तिमतिर मात्रै मुद्दा फैसला गर्‍यो ।’ 

जसकारण घरधनीहरुले समयमा नियमविपरीत निर्माण भएका घर नहटाउँदा कार्यमा ढिलाइ भएको पाण्डेले बताए ।   

 


कार्यालय प्रमुख र दुई इन्जिनियरको दरबन्दी खाली 

अत्तरीया–मोहना छ लेन आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका मनिषकुमार साह कात्तिक १६ गते सरुवा भएर गएपछि अहिलेसम्म नयाँ प्रमुख आएका छैनन् ।

काजमा आएका साह घरनजिकको डिभिजन कार्यालयमा सरुवा मिलाएर गएको निमित्त प्रमुख पाण्डेले बताए । 

त्यस्तै उक्त आयोजनामा दुई इन्जिनियरको दरबन्दी भए पनि निर्माण अवधि सकिन लाग्दा दुवै इन्जिनियरको दरबन्दी खाली रहँदै आएको छ ।

जसकारण प्राविधिक कार्यमा समस्या आएको सब–इन्जिनियर दिनेशराज ओझाले बताए ।


छ लाइनका तीन पुलको टेन्डर नै भएन

अत्तरिया–मोहना ६ लेनकाे खडकखण्डमा पर्ने तीनवटा पुलको टेन्डर नै नभएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । 

उनले भने, ‘कार्यालयमा हाकिम छैनन्, केन्द्रसँग पहल गर्ने हाम्रो पहुँच छैन । जसको कारण अहिलेसम्म टेन्डर नै हुन सकेको छैन ।’ 

उक्त तीन पुलमध्ये एउटा मोहना नदीमा र दुईवटा गेटामा छन् । तीनवटै पुलको टेन्डर अहिलेसम्म हुन सकेकाे छैन । जसको कारण ६ लेन आयोजना वर्षौ‌ पछाडि धकेलिने संकेत देखिएको छ । 


 साहको सरुवा हुँदा हुलाकी राजमार्ग आयोजना पनि प्रमुखविहीन

दुवै आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका मनिषकुमार साह कात्र्तिक १६ गते सरुवा भएर गएपछि अहिलेसम्म हुलाकी राजमार्ग आयोजनामा पनि नयाँ प्रमुख आएका छैनन् । 

आयोजनाका लेखा अधिकृत रामबहादुर बलायरले सामान्य प्रशासनबाहेक अन्य काम हुन नसकेको बताए । 

उनका अनुसार आयोजनाका प्रमुख नहुँदा कछुवा गतिमा काम भइरहेको र अनुगमनमा अवरोध आएको छ । 

 राष्ट्रिय गौरवका आयोजना नै महिनौंदेखि प्रमुखविहीन बन्दा निर्धारित अवधिमा सम्पन्न हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्