कराेडाैं खर्चेकाे सडकमा पार्किङ हुन थालेपछि जनकपुर अस्तव्यस्त



जनकपुरधाम : नगरभित्र पार्किङ स्थल नै नभएपछि जनकपुरमा सार्वजनिक बाटोमै सवारी साधनहरु पार्किङ गर्न थालिएको छ ।

 

एकीकृत शहरी विकास परियोजना अन्तर्गत करोडाैं खर्चेर जनकपुरमा बनेको नयाँ सडकमै पार्किङ हुन थालेपछि पुनः बजार क्षेत्र अस्तव्यस्त भएको छ । जनकपुरका युवा व्यवसायी सराेज मिश्र भन्छन्, 'सडक मै पार्किङ गर्नु थियाे भने किन तोडियाे हाम्राे कराेडाैं लगानीका घरहरु ?'

 

बजारका पसल र सटरहरु तोडेको प्रसङ्ग उठान गर्दै मिश्र थप्छन्, 'विना कुनै योजना बनाइएको यो सडक फराकिलो भएकै होइन, फुटपाथ मात्र दुवैतिर बढाएको छ, त्यसकारण पुनः सडकमै पार्किङ हुने गरेको छ ।' 

 

जनकपुरको परिक्रमा सडक झन्डै ९० प्रतिशत तयार भइसकेको भए पनि पार्किङको स्थल बनाएकाले जाम हुने समस्या पुनः सुरु भएको गुनासाे मिश्रको छ ।

 

जनकपुरमा अहिले एशियाली विकास बैंकको पौने दुइ अर्ब ऋण सहयाेगमा सडक र नाला बनाएकाे तर पार्किंङ स्थल बनाउन छुटाएको युवा व्यवसायी राजु कापड बताउँछन् ।

 

अहिले जनकपुरको मुख्य बजारमा रहेका कार्यालय र अधिकांश बैंकहरुले पनि आफ्नो पार्किंङस्थल सडकलार्इ बनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्