७० लाख मूल्यको जग्गा गाउँपालिकालाई दान



दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिएकी छन् ।

 

गाउँपालिकाको पशुपक्षी शाखाको नाममा करिब ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान दिएकी हुन् । मंगलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिएकी थिइन् । 

 

श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भने, ‘जीवनमा केही योगदान गराँै भन्ने भावना भएकाले किसानको हितका निम्ति जग्गा दान गरेका हौँ ।’

 

गाउँपालिकाले उक्त जग्गामा करिब एक करोडको लागतमा पशु अस्पताल बनाउने सोचका साथ प्रक्रिया अघि बढाएको पशुपक्षी शाखाका प्रमुख रामबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले प्रदेश सरकारलाई उक्त अस्पताल बनाउनेबारे जानकारी गराइसकेको छ । 

 

उक्त गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले गाउँपालिकालाई जग्गा दान गरेर श्रेष्ठ परिवारले ठूलो गुन लगाएको बताए । ‘जग्गा अभावमा पशु अस्पताल बनाउन समस्या भइरहेकाबेला यस जग्गाले अब अस्पताल भवन निर्माणका लागि सहज बनाउनेछ’, उनले भने ।

 

उक्त गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या दिनप्रतिदिन बढ्दो छ, तिनको उपचारका लागि अस्पताल नहुँदा समस्या हुँदै आएको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्