ए डिभिजन लीगमा आज छैटौं चरणका अन्तिम दुई खेल



काठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदैछन् ।  आज हुने खेल छैटौं चरणका अन्तिम हुन् । 

विहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । लिगमा अपराजित रहेको आर्मीले अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा जित र एक बराबरी गरेको छ । 

१३ अंकसहित तालिकाको चौथो स्थानमा रहेको आर्मी आजको खेल जिते तालिकाको दोस्रो स्थानमा पुग्नेछ । पाँच खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स क्लब तालिकाको १० औं स्थानमा छ ।  

त्यस्तै आजै हुने अर्को खेलमा ब्रिगेड ब्वाइज र मछिन्द्र क्लब आमने–सामने हुनेछन् । मछिन्द्र क्लबले अहिलेसम्म एउटा पनि खेल जितेको छैन भने ब्रिगेड ब्वाइजले पाँचमध्ये एक खेल मात्रै जितेको छ । 

३ अंकसहित ब्रिगेड ब्वाइज तालिकाको १२ औं स्थानमा रहँदा दुई खेल बराबरी गरेर २ अंक मात्रै जोडेको मछिन्द्र तालिकाको १३ औं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्