वाणिज्य बैंकबीच ब्याजदर बढाउने प्रतिस्पर्धा, कसले कति पुर्‍याए ?



काठमाडौं : बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर आफ्नो अनुकूलतामा तोक्न खुला गरेसंगै वाणिज्य बैंकबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ ।

मंगलबार नै जनता बैंकले मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज दर सार्बजनिक गरेको थियो ।

यस मुद्दती योजनामा ग्राहकले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । साथै बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । 

जनता बैंकपछि माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्‍याएको छ । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ । 

आज थप ३  बैंकले नयाँ ब्याजदर सार्बजनिक गरेका छन् । जस अनुसार मेगा बैंकले न्युनतम १ लाखको व्यक्तिगत मुद्दती निक्षेपमा  १२.५ प्रतिशत ब्याज दिने भएको छ ।  

प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्नसक्छ । एक लाखभन्दा कमको बचतमा भने बैंकले १० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै बैंकले संस्थागत निक्षेपकर्तालाई ९ प्रतिशत ब्याजदर सार्बजनिक गरेको छ ।  

त्यस्तै कुमारी बैंकले पनि न्यूनतंम मौज्दात रु १० हजारमा व्यक्तिगत निक्षेपकर्ताको लागि १३ प्रतिशत ब्याज घोषणा गरेको छ । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३.५ प्रतिशतसम्म पुग्नसक्छ ।  

बैंक अफ काठमाडौँले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ । 

अन्य बैंकले पनि ब्याज बढाउने अनुमान गरिएको छ । बैंकमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको भद्र सहमति खारेज गर्दै आफु अनुकुल ब्याज दर निर्धारण गर्न सक्ने सहमति गरेको हो । 

प्रतिक्रिया दिनुहोस्