
धनगढी: प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने सिफारिस पछि मतदानका लागि बोलाइएको शुक्रबारकाे संसद् बैठक विपक्षी दलका सांसदहरुले नाराबाजी तथा विरोध गरेका कारण १ बजे सम्मका लागि स्थगित गरिएको छ ।
नाम र राजधानीका विषयमा धनगढीबासीहरुले चर्को विरोध गर्दै नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् । नेपाली कांग्रेस तथा राजपाका सांसदहरुको विरोधपछि संसद् स्थगित गरिएको हो ।
प्रदेशसभामा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरी ५३ सांसद छन् । सत्तापक्षसँग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित भएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।
प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’को पक्षमा मतदान गर्न नेकपाले ह्वीप जारी गरेको छ । अस्थायी राजधानी धनगढीबाट गोदावरी सार्न लागिएको भन्दै धनगढीमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।