प्रदेश १ लाई आईकेयर टुरिजमका रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आईकेयर टुरिजमका रूपमा विकास गरेर गरिने बताएका छन् । विराटनगरमा बुधबार आयोजित विद्यार्थी तथा बालबालिकामा हुने दृष्टिदोष निवारण कार्यक्रमको उद्घाटन गर्दै राईले आँखाको उपचारका लागि सर्वसाधारणले अन्त जान नपर्ने बताए ।

 

प्रदेशलाई आईकेयर टुरिजमका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । त्यसका लागि सरकारले अध्ययन थाल्ने जानकारी उनले दिए । 

‘विराटनगरमा प्रत्येक वर्ष आँखा उपचारका लागि छिमेकी राष्ट्र भारतबाट लाखौं बिरामी आउने गरेका छन्’, उनले भने, ‘त्यही भएर पनि सिंगो प्रदेशलाई नै आईकेयर टुरिजमका रुपमा विकास गर्न सकिन्छ ।’ आँखाको उपचारका लागि प्रदेशमै अब्बल रहेको विराटनगरसँगै प्रदेशलाई आईकेयर टुरिजमका रूपमा अघि बढाउन सकिने प्रचुर सम्भावना रहेको राईको भनाइ छ । 

नेपाल नेत्रज्योति संघ र अरबिस अन्तर्राष्ट्रिय संस्थाद्वारा सुरु गरिएको दृष्टिदोष निवारण कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका तथा सुनसरीका विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिने बताइएको छ । कार्यक्रमअन्तर्गत दुई लाख ८० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिनेछ । आवश्यक परे विद्यार्थीलाई औषधि र ६ हजार रुपैयाँ सम्मको चस्मा निःशुल्क वितरण गरिने बताइएको छ । 

प्रदेश १ अस्थायी राजधानी विराटनगर पछिल्लो समय आँखाको समस्या उपचारको केन्द्र बन्दै गएको छ । आँखाको उपचारका लागि विराटनगरमा प्रदेश १ सँगै भारतका विभिन्न क्षेत्रबाट बिरामी आउने क्रम बढिरहेका छन् ।

 

हाल विराटनगरमा चार वटा आँखा अस्पताल सञ्चालनमा छन् । एउटा आँखा अस्पताल निर्माणाधीन छ । विराटनगरमा रामलाल गोल्छा, तापडिया, विराटनगर र विराट आँखा अस्पताल सञ्चालनमा छन् । ग्लोबल आँखा अस्पताल निर्माणाधीन छ ।  

प्रतिक्रिया दिनुहोस्