बुटवलको विकटमा बस्तीमा नगरप्रमुख, स्थानान्तरणबारे छलफल



बुटवल : बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे टोल उपमहानगरको सबैभन्दा विकट बस्ती हो । वरिपरि जंगल र खोस्लाले घेरिएको बस्तीमा करिब एक दजर्न परिवार बस्छन् । 

ती परिवारले आफूहरुको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधिसमक्ष उचित व्यवस्थापनको माग गरेका थिए । उनीहरूका गुनासो सुनेपछि नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य सहितको टोलीले उक्त बस्तीको स्थलगत अवलोकनमा पुगेको थियो । 

त्यहाँको अवस्था, सम्भावना र त्यसको कार्यान्वयनका लागि स्थानीयहरूकै सुझावका आधारमा योजना बनाइने प्रमुख सुवेदीको भनाइ छ । कृषि उद्यम र पशुपालनको प्रचुर सम्भावना रहेको र त्यसका लागि यातायात र खानेपानी व्यवस्था पहिलो प्राथमिकता रहेको भन्दै नगरप्रमुख सुवेदीले निजी क्षेत्र तथा माथिल्ला सरकारसँगको समन्वयमा सम्भावनाको थप अध्ययन गरिने प्रमुख सुवेदीले बताए ।

 

‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रूपमा विकास गर्न सकिन्छ । कृषि र पशुपालनका सम्भावनाबारे पनि थप छलफल आवश्यक छ’, नगरप्रमुख सुवेदीले भने, ‘स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइनेछ ।’

 

स्थानीयले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युत् व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

 

तर, त्यहाँका युवाले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका थिए । उनीहरूका अभिभावकले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या बर्सेनि बढिरहेको भन्दै गुनासो गरेका थिए ।

 

नगरप्रमुख सुवेदीले वैकल्पिक उपायबारे नगर कार्यपालिकामै छलफल गरिने बताए। उनले बस्ती जोखिमबारे आफूले जानकारी राखेको र सुरक्षाका उपायलाई तत्कालै गम्भीरताका साथ अघि बढाइने बताए ।  

उपप्रमुख आचार्यले बालबालिकाले पढ्नकै लागि धेरै सास्ती र जोखिम मोल्नुपरेको विषयलाई आफूले गम्भीरताका साथ लिएको बताए । वडाध्यक्ष सुवेदीले बस्तीको उचित व्यवस्थासहित संरक्षण वा स्थानान्तरणबारे बृहत् छलफल गरिने बताए ।

 

वडासदस्य भूपेन्द्र थापा, चारपाला सामुदायिक वनका पदाधिकारीले बस्तीको जोखिम न्यूनीकरणका लागि नगरको कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

बालाबलिकाको शिक्षा पहिलो प्राथमिकता

नगरप्रमुख सुवेदीले जंगलमा दैनिक दुई घण्टा हिँडेर पढ्न जाने बालबालिकाको सुरक्षा र वैकल्पिक व्यवस्था पहिलो प्राथमिकतामा राखेको बताए । उनले बालबालिकाको माग र चाहनाबमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफूले पहल सुरु गर्ने बताए ।

 

यो गाउँबाट अहिले सात जना विद्यार्थी दैनिक दुई घण्टा हिँडेर तामनगरमा पढ्न जाने गर्छन् । विद्यालय नजिक नहुँदा र जंगलको बाटो हिँड्नु पर्दा निकै अप्ठ्यारो भएको विद्यार्थी बिना गाहामगरको गुनासो छ । भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका भाइ–बहिनीलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावकसमेत बनेकी छन् । 

गाउँमा ८ घर छन् । त्यहाँबाट भिन्न भएर परिवार सारेका गरी १४ वटा घर रहेको उनीहरूले बताएका छन् । उनीहरू बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेसा पशुपालन हो । 

 

प्रतिक्रिया दिनुहोस्