स्थानीय र जनप्रतिनिधिकाे सहयाेगमा मोरङमा सर्पदंश उपचार केन्द्र बन्ने 



                                                        मोरङको केराबारी गाउँपालिका बजार ।

विराटनगर : मोरङमा पहिलो सर्पदंश उपचार केन्द्र बन्ने भएको छ । केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माणको काम अघि बढाइएको हो ।  

त्यहीं रहेको नेपाली सेनाको कालीशक्ति गणले प्राविधिक रूपमा सहयोग गर्ने भएपछि केराबारी ६ याङशिलामा गाउँपालिका कार्यालयले केन्द्र निर्माण सुरु गरेको छ ।

 

मोरङको उत्तरी पहाडी क्षेत्र र तराई भू–भागको मध्यमा पर्ने गाउँपालिकामा बर्सेनि गर्मी समयमा सर्पको बिगबिगी बढ्ने गरेका कारण उपचार केन्द्र निर्माणको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए ।

 

५८ लाख रुपैयाँको लागतमा निर्माण हुने केन्द्र आउँदो वैशाखबाट सञ्चालनमा ल्याइने जानकारी उनले दिए । अधिकांश भू–भाग चारकोसे झाडीले घेरिएको गाउँपालिकामा सर्पदंशका कारण बर्सेनि मानिसको ज्यान जाने गरेको छ । उपचार केन्द्र बनेपछि सर्पले डसेका सर्वसाधारणको उपचारमा सहज हुने कार्कीले बताए । 

केही वर्षअघिसम्म सो क्षेत्रमा बर्सेनि ३ जनासम्मको सर्पदंशका कारण मृत्यु हुने गरेको बताउँदै उनले भने, ‘स्थानीय तह गठन नहुँदा केन्द्र बनाउन सकिएको थिएन । अब उपचारका लागि धेरै टाढा गइरहनुपर्ने बाध्यता हटाउनेतर्फ लागेका छौं ।’

 

केन्द्रको भवन निर्माणका क्रममा जग उठाउने कार्य अघि बढाइएको वडा नम्बर ६ का अध्यक्ष उपेन्द्र लुंगेलीले जानकारी दिए । केन्द्रका लागि सेनाकै तर्फबाट दुई जना स्वास्थ्यकर्मीसमेत तयार भइसकेको बताउँदै उनले भने, ‘औषधिलगायत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्नेछ ।’ 

उपचार केन्द्रको निर्माणमा गाउँपालिकाले पाँच लाख, गाउँपालिका अध्यक्ष रोहित कार्कीले ५१ हजार, स्थानीय सारदा ढकालले २५ हजार र युवराज भण्डारीले २२ हजार प्रदान गरेका र बाँकी रकम विभिन्न दाताबाट संकलन गरिने लुंगेलीले जानकारी दिए । 

सर्पदंश केन्द्रका अध्यक्षसमेत रहेका लुंगेलीका अनुसार दुई वर्षअघिसम्म सो क्षेत्रमा प्रतिवर्ष १० जनासम्मलाई सर्पले टोकेको विगत छ । जसको उपचारका लागि इटहरी, धरान तथा झापा पुग्नुपर्ने बाध्यता रहेको थियो ।

 

मोरङ जिल्लामा अवस्थित गाउँपालिकामध्ये केराबारी क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो हो । यसको कुल क्षेत्रफल २ सय १९ दशमलव १३ वर्ग किलोमिटर छ । जसको अधिकांश भूभाग जंगलले ढाकेको छ । 

४० हजार जनसंख्या रहेको गाउँपालिकामा उपचार केन्द्रको निर्माण भएसँगै १० वटा वडा र धरानको पानमारा, धनकुटाको ओख्रे, बुधबारे ६ नम्बरका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्