तातोपानी नाका खुल्ने संकेत, मितेरीपुल बनाउँदै चीन सरकार



चौतारा : भूकम्पपछि २०७२ वैशाख यता बन्द तातापानी नाका फेरि सञ्चालनमा आउने संकेत देखिएको छ । नाकामा चिनियाँ पक्षद्वारा सुर गरिएको पुल तथा सडक निर्माणले नाका चाँडै सञ्चालनमा आउने संकेत गरेको छ ।

चीन सरकारले नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोसी नदीको मितेरी पुलको निर्माण सुरु गरेको छ । उक्त पुल २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुक्खा पहिरोबाट क्षतिग्रस्त भएको थियो ।

 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुरानै स्थानमा पुल निर्माण सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । पुल २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

पुल निर्माण चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एन्ड ब्रिज कम्पनीले थालेको हो । भूकम्पले क्षति पु¥याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको र कामदार सबै चिनियाँ रहेको भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

 

बाह्रबिसे–तातोपानी २९ किमि सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्युरोले गरिरहेको छ । यी दुवै काम पनि आगामी जेठ दोस्रो साता अर्थात् मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साबिक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुल  १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्