अनुदानको मलमा समेत कालोबजारी



वीरगञ्ज: पर्साको ग्रामीण क्षेत्रका सहकारी संस्थाले प्रतिबोरा ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ ।

 

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले ढुवानी खर्चसमेत गरी बढीमा प्रतिबोरा ७५० रुपैयाँभन्दा बढीमा बेचे कारवाही गर्ने चेतावनी दिँदै आएको छ । तर ग्रामीण क्षेत्रका ती सहकारी संस्था सञ्चालकहरुले ७५० रुपयाँमा बेच्दा घाटा लाग्ने भएकाले बढी रकम लिनुपरेको बताएका छन् ।

 

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले पर्साले १११ वटा सहकारी संस्थामार्फत किसानमाझ रासायनिक मल पु¥याउँदै आएको छ । गहुँ खेतीकालागि अति आवश्यक मल कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भएपछि पर्साका ग्रामीण क्षेत्रका किसान प्रभावित भएका छन् । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी हप्तामा २६० बोरा युरिया डिएपी र पोटास मल दिने गरेको छ ।

 

सहकारी संस्थाले कृत्रिम अभाव सिर्जना गर्नु, बाटोमै अन्य व्यापारीलाई बढी मूल्यमा बिक्री गर्नुजस्ता कारणले किसानहरु भारतीय मल किन्न बाध्य छन् । कम्पनीले पर्सामा आर्थिक वर्ष २०७५/७६ को चार महीनामा युरिया मल २६ हजार ४३७ मेट्रिक टन, डिएपी १३ हजार ३५१ मेट्रिक टन तथा पोटास ५४७ मेट्रिक टन बिक्री गरिसकेको छ भने कात्तिकमा युरिया ४८२ मेट्रिक टन, डिएपी ७११ मेट्रिक टन मल बिक्री गरेको छ ।

प्रतिक्रिया दिनुहोस्