दुई अमेरिकी बिमान आकाशमै जुधे



जापान: जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान आकाशमा जुधेर दुर्घटनाग्रस्त भएको छ । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।

 

आकाशमै एउटा लडाकू बिमानमा अर्को बिमानबाट तेल भर्ने क्रममा एकआपसमा ठोकिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए ।

 

पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ । अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो ।

 

तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको जापानी सैनिक अधिकारीहरुले बताएका छन् । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।  

प्रतिक्रिया दिनुहोस्