सेवाकेन्द्र सारेपछि रोल्पाबासी आक्रोशित



रोल्पा: जिल्लाका सरकारी कार्यालय स्थानान्तरण गरेको भन्दै रोल्पाबासी आक्रोशित भएका छन् । सेवाकेन्द्र सारेको बिरोधमा जिल्लाका सरोकारवाला सम्मिलित प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

 

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनप्रतिनिधि, राजनीतिक दल, नागरिक सङ्गठन र सञ्चारकर्मी संलग्न उक्त प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

 

ज्ञापनपत्रमा रोल्पाबाट एक-एक गर्दै सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण हुँदै जानु निकै दुखद् भएको बताइएको छ । त्यस्ता कार्यालय जिल्लाबाट स्थानान्तरण नगर्न गत असार ३ गते जिल्लाको सर्वपक्षीय समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको भए पनि सुनुवाई नभएको उल्लेख छ ।

 

जिल्लावासीको मागलाई बेवास्ता गर्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहीद मार्ग सडक योजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय र खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय स्थानान्तरण भई अन्य जिल्लामा गएको उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले नयाँ संविधान घोषणा भएसँगै जिल्लामा रहेका अधिकांश कार्यालय खारेज भइसकेकाले आवश्यकता अनुसार कार्यालय स्थापना हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्