प्रदेश १ को हिउँदे अधिवेशन पुस दोस्रो साता



विराटनगर : प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता सुरु हुने भएको छ । यसका लागि प्रदेश सरकारले तयारी थालेको छ । अधिवेशन आह्वान प्रक्रियाका लागि मुख्यमन्त्री शेरधन राईले परामर्श थालेका छन् । 

बर्खे अधिवेशन अन्त्य भएको लामो समय भइसकेको भन्दै उनले चाँडै नै हिउँदे अधिवेशन बोलाउने तयारी भएको जानकारी दिएका छन् । प्रदेशसभा १ को वर्षे अधिवेशन गत असोज २३ गते अन्त्य भएको थियो ।

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने अपेक्षा गरिएको छ । यसअघिका अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउनेबारे ठोस छलफल हुन सकेको थिएन । खासगरी प्रदेशको स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । 

 

सत्तारुढ दलभित्रै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा विवाद देखिएको छ । यसअघि मुख्यमन्त्री राईले प्रदेशका मन्त्रालयहरुलाई विभिन्न सहरमा रहने गरी छिरलेर राख्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए । यसो गर्दा कार्य सम्पादनमा अनावश्यक झमेला आउने भन्दै उनको भनाइको आलोचना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्