हुवावे संस्थापककी छोरी क्यानडामा पक्राउ



चीन : चीनको बहुराष्ट्रिय कम्पनि हुवावेका संस्थापक रेन जेनफीकी छोरी तथा हुवावेकी उप–प्रमुख मेङ्ग वान्जु क्यानडामा पक्राउ परेकी छन् । वान्जुलाई गत डिसेम्बर १ मा पक्राउ गरिएको क्यानडाको न्याय मन्त्रालयले पुष्टि गरेको हो ।

 

मन्त्रालयले अमेरिकी सुरक्षा निकायको आग्रहमा आफूले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउबारे क्यानडाले विस्तृत जानकारी नदिएपनि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको विषयमा अमेरिकाले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

घटना लगत्तै क्यानडामा रहेको चिनियाँ दूतावासले वान्जुलाई विना कारण पक्राउ गरिएको भन्दै विरोध जनाएको छ । चिनियाँ दूतावासले तत्काल रिहा गर्न आग्रह गरेको छ । हुवावेले वान्जुले अमेरिका र इरानबीचको मामलामा कुनै नकरात्मक काम नगरेको स्पष्टिकरण दिएको छ ।

 

अमेरिकी सञ्चार माध्यमहरुले अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको बारे अनुसन्धान गरिरहेको बताएका छन् ।  अमेरिकी विधान निर्माताहरुले बारम्बार हुवावेलाई अमेरिकी सुरक्षाको खतरा रहेको बताउँदै आएका छन् । हुवावेले आफ्नो मोबाइलमार्फत् अमेरिकासहित अन्य राष्ट्रको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ ।

 

क्यानडास्थित चिनिया दूतावास भने हुवावे भन्दा अझ कडा रुपमा उत्रिएको छ । दूतावासले अमेरिकी र क्यानाडेली कुनै कानुन उल्लंघन नगरी वान्जु पक्राउ हुनु मानव अधिकारको उल्लंघन भएको बताएको छ । चिनियाँ दूतावासले वान्जुलाई तत्काल रिहा पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्