काठमाडौं : नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालय तहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन आग्रह गरेको छ ।
बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए । बोर्डले पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानुन सङ्काय, डिनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
लोकसेवा आयोगलाई समेत धितोपत्र बजारसम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पुँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ ।
देशका ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमध्ये करिब ७ सय तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ ।