अब काठमाडौंका विद्यालयमा एउटै पोसाक



काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरकाभित्रका सबै विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोसाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरुपता ल्याउन एकै प्रकारको पोसाक लागू गर्ने तयारी गरेको हो ।

विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले विदेशका महानगरमा रहेका विद्यालयको पोसाक एउटै हुनेगरेको जानकारी दिँदै काठमाडौं महानगरपालिकाले पनि एउटै प्रकारको पोसाक लागू गरेर विद्यालयमा एकरुपता ल्याउन खोजेको जानकारी दिए । उनले एउटै पोसाक सबै विद्यालयमा विभिन्न चरणमा गरी लागू गर्ने बताए । यसका लागि विभागले शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका सङ्घसङ्गठन र अभिभावकसँग छलफल गर्ने भएको छ । 

महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउन शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेक सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेन्डर बनाउन थालेको कोइरालाले बताए । काठमाडौं महानगरमा ९१ सामुदायिक र ६ सय ४० संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्