राष्ट्रपति भण्डारी स्वदेश फिर्ता



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्किएकी छिन् ।  

 

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो ।

 

भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमण बारेमा जानकारी दिए । सम्मेलनको उद्घाटनमा राष्ट्रपति भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भएपनि नेपाली जनताले कहिल्यै नगरेको गल्तीको सजाय भोग्नुपरेको बताएकी मन्त्री बस्नेतले उल्लेख गरे ।

 

नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताएकी थिइन् ।

 

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसलेबीच शिष्टाचार भेटवार्ता भएको थियो । साथै राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्री बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्