यमनको शान्ति वार्ता स्वीडेनमा शुरु



स्वीडेन:  चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा शुरु भएको छ । संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो ।

 

त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ता युद्ध अन्त्य गर्न असफल भएको थियो । युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरिको चपेटामा परेका छन् । यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ ।

 

राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ । राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ । पछिल्ला वर्षमा फैलिएको भोकमरि, रोग र युद्धका साथै बालसैन्य भर्नाले यमन आक्रान्त छ । हुथी बिद्रोहीहरुले साना अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्न अनुरोध गर्ने अपेक्षा गरिएको छ ।

 

वार्ता स्वीडेनको स्टकहोमबाट ६० किलोमिटर उत्तरमा सुरु भएको हो । बाह्र सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व यमन सरकारका विदेशमन्त्री खालेद अल–यमनीले गरेका छन् । यसअघि राष्ट्रसंघले सेप्टेम्बरमा वार्ता गर्नेगरी पहल गरेपनि अन्तिम समयमा सुरक्षाको कारण दर्शाउँदै हुथी बिद्रोही वार्ताबाट अलग भएका थिए । सरकार र हुथीबीच मङ्गलबार मात्र आआफ्ना नियन्त्रणमा रहेका कैदीबन्दी मुक्त गर्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्