जनकपुरमा लागू अाैषध प्रयाेग नियन्त्रण गर्न सबै जुटे



जनकपुर : नेपाल पूर्व प्रहरी संगठन प्रदेश २ जनकपुरधामको आयोजनमा लागूऔषध (ड्रग) सम्बन्धि एक दिने सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा पूर्व प्रहरीका राष्ट्रिय अध्यक्ष बसन्तराज कुँवरले लागू औषधको सेवन र त्यसका प्रभावबारे प्रकाश पारेका थिए ।

 

जनकपुरको रौनियार सेवा सदनमा भएको अभिमुखीकरणलाई प्रशिक्षण दिदै अध्यक्ष कुँवरले नेपालमा अहिले २ लाख ८५ हजार विद्यार्थीहरु लागू औषध दुर्व्यसनीमा फसेकाे जानकारी गराए ।

 

लागू औषध सेवनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रशिक्षक कुँवरले यस सम्बन्धी जनजागरण र सचेतना फैलाउनु सबैको दायित्व रहेको सुझाएका छन् । लागू औषधको कारण कसरी हाम्रो घर, समाजमा नकारात्मक प्रभाव परिरहेकाे छ भन्ने थुप्रै तर्कसहितका उदाहारण अध्यक्ष कुँवरले प्रस्तुत गरेका छन् । 

 

प्रदेश २ मा मात्र ४० हजार व्यक्तिहरु लागू औषध दुर्व्यसनीमा फसेकाे एक तथ्यांकले देखाउँछ । पूर्व प्रहरी निरीक्षक गोविन्द झाको अध्यक्षतामा भएको एक दिने प्रशिक्षण कार्यक्रममा पूर्व ए.आई.जी. तथा पूर्व प्रहरी संगठनका राष्ट्रिय उपाध्यक्ष विनोद सिंहले प्रदेश २ मा लागू औषधको प्रयोग गर्नेको संख्या वृद्धि हुनु चिन्ताको विषय रहेको बताए  । सिंहले अागामी दिनहरुमा लागू अाैषध प्रयाेग नियन्त्रण गर्न पालिकाहरुले पनि यस विषयलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने सुझाव दिए ।

 

कार्यक्रममा उपमहागरपालिकाका मेयर लालकिशोर साह, नागरिक समाजका अगुवा अमरचन्द्र अनिल, समाजसेवी बैद्यनाथ साह लगायत स्थानीय विद्यालयका छात्र छात्राहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्