विद्युत चाेरी नियन्त्रण गर्न खटिएका कर्मचारी कुटिए



सिरहा : हुकिङ गरी हुने विद्युत् चुहावट नियन्त्रण गर्न सिरहा नगरपालिका–१३ स्थित गम्हरिया फूलबरिया पुगेका विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीलाई स्थानीयले कुटपिट गरेका छन् । 

विद्युत् चोरी नियन्त्रण गर्न बुधबार राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीयले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् । 

फूलबरिया गमहरियाको एक घरमा मिटर बइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेका कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले बताए । स्थानीय पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् ।

घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको दुवेले बताए । उनका अनुसार कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्