गलत नक्सा र निसान छाप प्रयोग नगर्न सरकारको निर्देशन



सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।

यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन नै गरी नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गरिन् । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने उनले जानकारी दिइन् ।

उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताइन् ।

अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उनको भनाइ छ । अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ ।

अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन नै गरेर जाने भन्दै उनले नापि विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने उनले जानकारी दिइन् । सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा विस्थापित गर्ने योजना छ ।

मिडियाहरुमा कालापानी लगायतका ठाउँलाई उल्लंघन हुनेगरी नक्सा प्रयोग भएकोप्रति नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष गोरखापत्रले नै तीन पटक गलत नक्सा छापेको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्