चालक नभेटिँदा थन्कियो ब्रुमर



                                              विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन नसकेको ब्रुमर ।

विराटनगर : विराटनगर महानगरपालिकाले दक्ष जनशक्तिको अभावमा धुलो सफा गर्ने गाडी ब्रुमर दुई महिनादेखि प्रयोगमा ल्याउन सकेको छैन । 

गत असोजमै सडकको धुलो सफा गर्न महानगरपालिकाले भारतीय टाटा कम्पनीको स्विपर भ्याक्युम टाइप पावर ९५ एचपी नामक ब्रुमर गाडी खरिद गरेको थियो । दक्ष जनशक्ति नभेटिँदा उक्त गाडी महानगरपालिका कम्पाउन्डमै थन्किएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले धुलो सफा गर्न ल्याएको गाडी दक्ष चालकको अभावमा सञ्चालनमा आउन नसकेको बताए । उनले भने, ‘दक्ष चालकका लागि आवेदन माग गरेका छौं । केहीको आवेदन पनि आएको छ । छिटै सञ्चालनमा ल्याउने तयारी छ ।’ 

महानगरले सडक निर्माण तथा विस्तारका क्रममा अत्यधिक धुलो भएको जनगुनासो आएपछि गत वर्ष नै बु्रमर खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाएको थियो । इ–टेन्डरमार्फत म्याप इन्टरप्राइजेज प्रालिले असोजमा महानगरलाई गाडी उपलब्ध गराएको हो । इन्टरप्राइजेजले निर्धारित समयमा ब्रुमर उपलब्ध गराउन नसक्दा ४० हजार रुपैयाँ जरिवाना तिरेको महानगरको जिन्सी शाखाले जनाएको छ । महानगरले बु्रमर गाडी म्याप इन्टरप्राइजेजसँग ५५ लाख रुपैयाँमा खरिद गरेको हो । 

ब्रुमर पहिलोपटक प्रयोग गर्ने क्रममा सामान्य प्राविधिक खराबीसँगै थन्किएको थियो । यद्धपि हाल गाडी प्रयोगका लागि तयारी अवस्थामा रहेको तर दक्ष चालकको अभावमा काममा ल्याउन नसकेको महानगरले जनाएको छ । 

यो गाडीका लागि चालकसँगै थप दुईजना सफाइ कर्मचारी आवश्यक पर्छन् । यसलाई प्रयोगमा ल्याउन सके धुलोको समस्या केही हदसम्म नियन्त्रण हुने आशा विराटनगरवासीको छ ।

प्रतिक्रिया दिनुहोस्