सरकारले मलार्इ ब्ल्याकमेल गर्याे : डा‍. गाेविन्द केसी



काठमाडौं :  डा.गोविन्द केसीले सरकारले चिकित्सा शिक्षा विधेयकसम्बन्धी आफूसँग भएका सम्झाैता कार्यान्वयन नगरेकाे बताएका छन् । 

 

उनले अाफूसँग सरकारले ब्ल्याकमेल गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा.केसीले सरकारले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेर अाफूलार्इ ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।

 

‘सरकारले माग सम्बोधन गर्ने सवालमा बारबार धोका दिएको छ’ पत्रकार सम्मेलनमा केसीले भने, ‘त्यसकारण जुनसुकै समयमा पनि फेरि अनशन सुरु गर्न सक्छु ।’ उनले अबको अनशन कहाँ र कहिले बस्ने भन्ने कुराबारे कसैलार्इ जानकारी नदिने पनि बताए । 

 

गलत नेतृत्व र गलत नेताका कारण माग सम्बोधन नभएको भन्दै डा. केसीले सत्तामा भ्रष्ट नेता भएकाले सरकार जनताप्रति उदासीन रहेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षासम्बन्धी आफूले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएकाले मन्त्री पोखरेलको राजीनामासमेत मागे । 

 

‘अध्यादेशलाई तोडमोड गरेर संसद्मा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल उक्त पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् । 

 

डा.केसीसँग १५ औं अनशनका क्रममा सरकारले गरेको सहमतिअनुसार शिक्षा विधेयक संसद्बाट पारित नगरिएकोमा डा.केसीले आपत्ति जनाएका छन् । उक्त विधेयक अहिले शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन अवस्थामा छ । 

डा.गाेविन्द केसीद्वारा जारी प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्