चीनले भन्यो, ‘मेङ पक्राउ गर्नुको कारण स्पष्ट पार’



ओटावा: चीनको विशाल दूरसञ्चार कम्पनी ह्वावेइका संस्थापककी छोरी तथा कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउ क्यानडामा पक्राउ परेकी छन् । उनलाई क्यानडामा पक्राउ गरी अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुको भनाई छ ।

 

चीनले पक्राउ र दुव्र्यवहारप्रति कडा शब्दमा आपत्ति जनाएको छ । उसले अमेरिका र क्यानडालाई चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मेङको पक्राउबारे स्पष्ट पार्न समेत आग्रह गरेको छ ।

 

ह्वावेइका संस्थापककी छोरी मेङ १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । उनलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा शुक्रबार सुनुवाई हुँदैछ । उनी पक्राउ पर्नुको विस्तृत कारण समेत खुलाइएको छैन । तर अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धविरुद्ध हुनेगरी सो कम्पनीले काम गरेकोबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 

चीनले मेङको रिहाईको माग गरेको छ । चीनले यो गिरफ्तारी अधिकारको दूरूपयोग भएको बताएको छ । ‘कुनै कारण नखुलाई गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन भएको ठहर्छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले भने, ‘हामीले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो राखेका छौं र उनको कानुनी अधिकार संरक्षण हुनेगरी तत्काल रिहाईको माग गरेका छौं ।’

 

एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका समयमा उनी पक्राउ परेकी हुन् । उनलाई पक्राउ गरिएको विषयमा क्यानडाले थप कुनै जानकारी उपलब्ध गराएको छैन ।

 

क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । अमेरिकी सञ्चारमाध्यमले भने ह्वावेईले इरानमाथि लगाएको अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै छानबिन चलिरहेको उल्लेख गरेका छन् ।

 

गत अप्रिलमा ह्वावेइका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले घोषणा गरेका थिए । अमेरिकी सांसदहरूले सो कम्पनीका उत्पादनहरु चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुन सक्ने आरोप लगाउँदै ह्वावेई कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको टिप्पणी गर्दै आएका छन् ।

 

एउटा विज्ञप्तिमा सो कम्पनीले आफू कार्यरत देशका सबै कानुन तथा नियमहरूको पालना गरेको बताउँदै संयुक्त राष्ट्रसंघ, अमेरिका तथा यूरोपेली संघको पनि आयात नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कानुनहरूको पालना गरिरहेको उल्लेख गरेको छ ।

 

अमेरिकाले थुप्रै चिनियाँ कम्पनीले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन र साइबर चोरी गरेको आरोप लगाउँदै ती कम्पनीहरूविरुद्ध कानुनी मुद्दाहरू दायर गरेका बेला ह्वावेईकी उच्च अधिकारी पक्राउ परेकी हुन् ।

 

अमेरिका र चीनबीच जारी व्यापारिक तनाब अन्त्य गर्ने सहमति भएको केही दिनपछि नै यो नयाँ विवाद सतहमा आएको हो । दुबै देशका व्यापार मध्यस्थकर्तामाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी रहेका बेला आएको यो विवादले थप तनाव सिर्जना गर्ने आशंका गरिएको छ ।

 

मेङको गिरफ्तारीको प्रभाव एसियाली सेयरबजारमा समेत परेको छ । सांघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । सांघाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ । क्यानडामा पक्राउ परेकी मेङका पिता एवं ह्वावेईका संस्थापक रेन झेङफाई चिनिया जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन् । राजधानीवाट

प्रतिक्रिया दिनुहोस्