‘प्रहरी निर्मला पन्तका हत्यारानजिक’



काठमाडौं : प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।

 

‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए ।

 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुरबाबा जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।

 

‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो, ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।’ गृह मन्त्रालय स्रोतले पनि यो घटनाको निचोडमा पुग्न लागेको बतायो । ‘प्रहरीले अपराधीनजिक पुगेको भनेको छ’, गृह स्रोतले भन्यो ।

 

प्रहरीले रावलसँग सम्बन्ध देखिएका दुई जनालाई पनि कञ्चनपुरमा पक्रेको छ । उनीहरूलाई काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई अभिभावकको साथ लगाएर जहाजबाट काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

 

‘केन्द्रबाट २ जनाबारे अनुसन्धान गर्नुपर्ने भएकाले पठाउन भनियो’, कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘परिवारका सदस्यसँगै उनीहरू दुवैलाई पठाइएको छ ।’ प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले यी दुई जनाको नाम लिएका थिए ।

 

महानिरीक्षक आफैँ सीआईबीमा

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगे । उनी त्यहाँ जानुको कारण थियो, निर्मलाको हत्यामा ‘संलग्न’ एक जना पक्राउ परेको सूचना । खनालले आफैँ रावलको बयान लिए ।

 

सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि चौधरीद्वयलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो । रावल पक्राउ परेपछि महानिरीक्षकलाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिए ।

 

को हुन् रावल ?

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए । प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् ।

 

विज्ञ टोलीबारे यू टर्न

सीआईबी टोलीले रावलसँग बयान लिइरहँदा महानिरीक्षक भने गृह मन्त्रालयमा निर्मला प्रकरणबारे जवाफ दिइरहेका थिए । गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेमकुमार राई र प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदी बैठकमा सहभागी थिए । गृहमन्त्रीले अनुसन्धानप्रति असन्तुष्टि जनाएका थिए ।

 

उनले निर्मला प्रकरण अनुसन्धान गर्न अर्को विज्ञ टोली बनाउनुपर्ने बताएका थिए । सीआईबी, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली खटिरहेको अवस्थामा गृहमन्त्रीको नयाँ प्रस्ताव आएको थियो । महानिरीक्षकले भने अनुसन्धान चलिरहँदा अर्को समिति गठन आवश्यक नरहेको बताएका थिए ।

 

प्रवक्ता सुवेदीले बुधबार मन्त्रालयमा महानिरीक्षकलाई बोलाएर निर्मला प्रकरणबारे छलफल गरिएको पुष्टि गरे । बैठकबाट बाहिरिएका खनाललाई रावलबारे सूचना दिइएको थियो ।यसलगत्तै विज्ञ टोली गठन गर्ने गृहको योजनाले ‘यू टर्न’ लियो । तत्काल त्यस्तो टोली गठन हुने सम्भावना टरेको आजको अन्नपुर्णमा खवर छ ।

 

पुष्टि होला आरोप ?

निर्मलाको हत्या भएको चार महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । हाल समातिएका विरुद्ध पनि प्रहरीले ठोस प्रमाण फेला पार्न सकेको छैन । यसअघि पक्राउ परेका दीलिपसिंह विष्टसहितले साबिती बयान दिए पनि डीएनए नेगेटिभ आएपछि रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्