सांसद आवास हडपेर मन्त्रीनिवास



काठमाडौं : सरकारले ललितपुरको भैंसेपाटीमा संसद आवास गृहसहित ४१ वटा भवन बनाउने निर्णय गरेको छ । सैंवु आवास क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूको निम्ति २७ वटा यस्ता भवन बन्ने भएका छन् ।

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालयका निम्ति अर्को १४ वटा भवन बनाउने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषद्ले गरेको छ । बिहीबार सञ्चार मन्त्री तथा सरकारकार प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिक गरको उक्त निर्णय अनुसार ४१ वटै भवन बनाउन १४९ रोपनी चार आना ३ दाम जग्गा छुट्याईएको छ ।

यस्तो संसद आवास बनाउन सरकारले निर्णय गरेकोले अब सहरी विकास मन्त्रालयले कार्यक्रम तय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । आवास गृह दुई वर्षभित्र बनाइसक्ने गरी तयारी गरेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

उनले भने, 'आवश्यक डिजाइन र निर्माण मोडालिटि तय गरेर यो योजनालाई अगाडि बढाउने काम मन्त्रालय अन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागबाट हुने छ ।'

सैबुमा बन्ने ४१ वटै आवास गृहको निम्ति करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसको एकीन लागत भने पूर्ण विवरण संकलन गरेर तयार पारिने डिजाइनपछि मात्रै तय हुने पनि मन्त्री राईले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्