‘वीरगन्ज राजधानी नभए आन्दोलन’



वीरगन्ज : प्रदेश २ को स्थायी राजधानी वीरगन्जमा नबनाइए फेरि आन्दोलन गर्ने भन्दै यहाँका अगुवा र जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

 

प्रदेश २ को राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न प्रदेश सरकारले गठन गरेको संवाद तथा सुझाव अयोगले वीरगन्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि र अगुवाहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।

 

जनकपुरलाई अस्थायी राजधानी बननाएर संघीय सरकारले गरेको गल्ती अब प्रदेश सरकारले नसच्याए त्यसको परिणाम भयावह हुने पनि उनीहरुले बताए । प्रदेश घोषणा लगत्तै संघीय सरकारले प्रादेशको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा राजधानीको माग गर्दै ६ महिना सम्म लगातार आन्दोलन भएको थियो ।

 

अहिले फेरि प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सरकारले रायसुझाव संकलन गर्न थालेपछि राजधानीको विवाद वीरगन्जमा सुरु भयो । प्रदेशको स्थायी राजधानी र नाम तोक्ने काम प्रदेशसभाको हो ।

 

तर एक सय सात सदस्यीय प्रदेश २ को प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषयमा सदस्यहरुबीच मतभिन्नता भएपछि यसबारे सुझाव संकलन गर्न प्रदेश सरकारले गठन गरेको आयोगले बिहीबार देखि काम सुरु गरेको छ ।

 

गत कात्तिक ११ गते नै बसेको मन्त्रिपरिषदको बैठकले डा. हरिवंश झा संयोजक रहने गरी तीन सदस्यीय आयोग गठन गरे पनि ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको संवाद तथा सुझाव आयोगले गठन भएको ४० दिनपछि मात्र काम सुरु गरेको हो ।

 

बिहीबार आयोगले वीरगन्जको एक पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा सहभागी पर्साबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले वीरगन्जलाई नै स्थायी राजधानी बनाउनु पर्नेमा जोड दिए । अहिले अस्थायी राजधानी तोकिएको जनकपुर कुनै पनि कोणबाट उपयुक्त नरहेको भन्दै उनीहरुले राजधानीका लागि वीरगन्जको विकल्प नभएको जिकिर गरेका अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्