पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाई



काठमाडौं: सर्वोच्च अदालतले विशेष अदालतबाट दोषी ठहरिएका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । बोहोरालाई विशेष अदालतले दोषी ठहर गर्दै डेढ वर्ष कैद र २६ लाख ६३ हजार ४८५ रुपैयाँबराबरको बिगो र जरिमानाको फैसला गरेको थियो ।

 

तर, सर्वोच्चले विशेष अदालतको सो फैसला उल्टाउँदै बोहोरालाई सफाइ दिएको हो । अख्तियारले विशेष अदालतको फैसलामा कम बिगो र सजाय गरेको भन्दै दोस्रोपटक पुनरावेदन गरेको थियो । सर्वोच्चले अख्तियारको पुनरावेदनमा अन्तिम फैसला गर्दै यसअघिको विशेषको फैसला उल्टाइदिएको हो ।

 

बोहोराको मुद्दामा विशेषले नै कहिले निर्दोष देखाउने त कहिले दोषी ठहराउने गर्दै आएको थियो । सर्वोच्च अदालतले पनि बोहोराको मुद्दामा यसअघि पुनः तथ्यको आधारमा फैसला गर्न आदेश दिएकोमा अहिले आएर सफाइ दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बोहोरालाई सफाइ दिएको राजधानीमा खवर छ ।

 

सर्वोच्च अदालतले बिहीबार बोहोराको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ गर्दै कुनै अकुत सम्पत्ति आर्जन नगरेको ठहर गरेको छ । अदालतले बोहोराले सार्वजनिक पदमा छँदा पदीय दुरुपयोग गरी करिब २६ लाख भ्रष्टाचार गरेको ठहर गर्दै बोहोरालाई त्यति नै रकमबराबर जरिमाना र डेढ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

 

प्रहरी प्रमुख भएका बेला खरिद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको हो । बोहोरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

 

पूर्वप्रहरी महानिरीक्षक बोहाराविरुद्ध २९ साउन २०६१ मा अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलासले १३ जेठ २०६४ मा उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्