नेपालको भौगोलिक नक्सा अब स्याटेलाइटबाट



काठमाडौं : स्याटेलाइटबाट खिचिएको नेपालको समग्र भूभागको तस्बिर चीनले उपलब्ध गराउनेछ । यस विषयमा चीन र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले नेपालको तर्फबाट हस्ताक्षर गरेका छन्। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्याल संयुक्त राष्ट्र संघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलन भाग लिन चीन गएको बेला उक्त समझदारी भएको हो।

 

जसअनुसार अनुसार आगामी पाँच वर्षसम्म चीनले निःशुल्क रुपमा स्याटेलाइटबाट खिचिएको तस्बिर नेपाललाई उपलब्ध गराउने सहसचिव जोशीले दिए । ‘जेट ३ स्याटेलाइट इमेज क्लाउड सर्भिस प्लेटफर्म इन नेपाल’ नामक प्रणाली अन्र्तगत नेपालले आवश्यकता अनुसार तस्बिर डाउनलोड गर्न सक्नेछ ।

 

नेपालले जापान र फिनल्यान्ड सरकारको सहयोगमा हवाइफोटो प्रयोग गरी १: २५००० र १: ५०००० माननापको नक्सा तयार पारेर प्रयोग गरिरहेको छ । स्याटेलाइट तस्बिर को प्रयोगबाट अब यी नक्सा अद्यावधिक गर्न सकिने छ। तस्बिरको प्रयोग गरी ठूलो माननापको स्थलरुप नक्साको नयाँ ‘सिरिज’ नै तयार पार्न सकिने छ । यसबाट प्राकृतिक श्रोत, वनजंगललगायतको नक्सांकनमा सहयोग पुग्नेछ ।

 

त्यस्तै शोध अनुसन्धान, सहरी योजना तर्जुमा, प्रकोप व्यवस्थापन, जनगणना, आधुनिक कृषि परियोजना, विकास निर्माण र नीति तय गर्न पनि यस्तो नक्साको उपयोग गरिन्छ। स्याटेलाइट नक्साबाट यी कार्य गर्न थप सहज हुने जोशीले बताए ।

 

चीनले निशुल्क स्याटेलाइट तस्बिर उपलब्ध गराउने भएपछि नेपालमा नक्सा बनाउन खर्च हुने करोडौँ रुपैयाँ बचत हुनेछ । नक्सा बनाउन वर्षेनी १० देखि १५ करोड रुपैयाँ खर्च हुँदै आएको अन्नपुर्ण पोष्टमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्