वन मन्त्रीसहित १२ कर्मचारी पोल्यान्ड पुगे



काठमाडौं: वन तथा वातावरण मन्त्रालयबाट मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्यान्ड भ्रमणमा गएका छन् । पोल्यान्डमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् ।

 

आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्यान्ड गएका हुन् । मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाका अनुसार पोल्यान्डमा जारी सम्मेलनमा मन्त्रालयका सहसचिव महेश्वर ढकाल छन् ।

 

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख ढकाल भने फोकल पर्सन हुन्। सहसचिव रामप्रसाद लम्साल पनि छन् । उनी वन तथा भू–संरक्षण विभागको महानिर्देशक हुन्। यसअघि जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको अनुभव संगालेको भन्दै उनलाई पनि सम्मेलनमा पठाएको ढुंगानाले जानकारी दिए। तर, उनी असम्बन्धित व्यक्ति हुन् ।

 

त्यसैगरी उपसचिव अखण्ड शर्मा, रामहरि पन्त, रामप्रसाद अवस्थी पनि भ्रमणमा गएका छन्। प्रशासन सचिव रामबहादुर शाही, मन्त्री बस्नेतका निजी सचिव गणेशविक्रम शाही पनि भ्रमणमा छन्। उनीहरुको सम्मेलनमा कुनै काम छैन् ।

 

विन्दु मिश्र, अरुण भट्ट, सञ्जय तिवारीलगायतका असम्बन्धित कर्मचारी पनि सम्मेलनका लागि भनेर हाल पोल्यान्डमा घुम्दैछन् । प्रवक्ता ढुंगानाका अनुसार मन्त्रालयले मनोनयन गरेर पठाएको कर्मचारी १० जना मात्रै हुन्।

 

तर, यादव उप्रेती पनि सम्मेलनका लागि भन्दै भ्रमणमा सहभागी छन् । उनी भने मन्त्रालयका कर्मचारी होइनन्। ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी फन्डमा कन्सल्ट्यान्टका रुपमा कार्यरत उप्रेतीलाई मन्त्रालयका सचिव विश्वनाथ ओलीले पठाएको स्रोतले बतायो। सम्मेलनमा ओली पनि जाने तयारी गरेका थिए। तर, मन्त्रिपरिषद्बाट सचिव ओलीको भने भ्रमण स्वीकृत नभएर रोकिएका थिए ।

 

‘यो महत्वपूर्ण सम्मेलन भएर धेरै कर्मचारीको सहभागिता गराएका हौं,’ मन्त्रालयका प्रवक्ता ढुंगानाले भने, ‘कर्मचारीको भ्रमणले मन्त्रालय तथा सरकारलाई कुनै आर्थिक भार पर्दैन।’ उनका अनुसार मन्त्री बस्नेतबाहेक कर्मचारी विभिन्न दातृ निकायको फन्डबाट सम्मेलनमा भाग लिन पोल्यान्ड पुगेका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्